थाहा छैन त्यो रात उहाँले श्रीमानको पिटाइ खानु भयो कि भएन?

untitled2

चीनको वुहानबाट फैलिएको कोरोना भाइरस, विश्वका धेरै देशहरुमा फैलिरहेको थियो । मिडिया, अफिस, घर र साथीहरुसंगको गफगाफमा पनि कोरोनाको नै चर्चा थियो । सबैसंगको कुराकानीमा मैले समान प्रतिक्रिया भेटाए, नेपालमा कोरोना भाइरसको संक्रमण भयो भने रोकथाम गर्न निकै ग्राहो हुन्छ । कोरोनाको कारण दिमागमा हल्का डरले एउटा ठाउँ बनाइसकेको थियो । अफिस आउने जाने गर्दा अलिअलि सर्तकता अपनाउन थालिसकेकी थिए । 

चीनमा भाइरसको संक्रमण बढे लगतै नेपालमा मेडिकल मास्कको कालो बजारी शुरू भइसकेको थियो । एकदिन म मेडिकलमा मास्क किन्न क्षेत्रपाटीको हरेक मेडिकल पसलमा गए तर पाइन । पाँच मिनेटको हिडाइपछि एउटा पसलमा गए, त्यहाँ मास्क त पाएँ तर पैसा दोब्बर तिर्नु पर्ने थियो । मैले पसलको दिदीलाई सोधे, अहिले त नेपालमा संक्रमण पनि भएको छैन किन यस्तो महंगो ? उहाँले जवाफ दिनुभएन तर मलाई पहिलाको दाममा नै लग्नुस् भन्नुभयो । एक साझ अफिसबाट घर फर्किदै गर्दा यो कुरा याद आयो । अहिले संक्रमण नहुदा त मास्क यस्तो महंगो भइसक्यो अहिले नै किनेर राख्नुपर्छ भनेर मेडिकल पसल गए तर पाइन । घर नजिकैको पसलमा पाइएला कि भनेर गए, त्यहाँ पनि पाएन । घर जादै गर्दा बाटोमा दाईको छारीले सोधी, नग्मा दिदी तपाईको घरमा नुन छ? मैले किन भनेर सोध्नु अगावै उसले भनि हालि, आज म एक प्याकेट नुन किन्न कत्तिवटा पसल गए तर पाएन अनि परको पसल सम्म गएर किनेर ल्याए । मलाई लाग्छ अब नुनको अभाव हुन्छ होला । मैले उसलाई केही हुँदैन तिमी चिन्ता नगर घर जान सुझाव दिए । उ आफ्नो घर तिर लागी । मैले बहिनीलाई त केही हुन्न भनेर घर पठाए तर पसलहरुमा खाद्यानको अभाव हुन थालेको थियो ।

आफुसंग पैसा हुनेले घरमा खाद्यान स्टक राख्न थालिसकेका थिए । यो संगै मेरो मनमा एक प्रकारको प्रश्न उठिरेको थियो दिनभरि काम गरेर बेलुका खानेहरु अब के गर्छन् होला?

मास्कमा कालो बजारी सुरु भईसक्यो भने अरुमा नहुने कुरै भएन कुनै आपतविपत र महामारी आउँदा कालोबजारी मौलाउने हाम्रो दिर्घ रोग हो । अहिले उनि उहि हुनेवाला छ दिक्क लाग्यो । आखिर भयो पनि उही सरकारले कालो बजारी गर्नेलाई कार्वाही गछौं नियन्त्रणमा लिन्छौ भन्छ तर सरकार कहाँ छ? नागरिकले भेट्न सकेका छैनन् ।

अफिसबाट पनि अब सेल्फ आइसोलेसनमा जाने र घरबाट नै काम गर्ने निर्णय भयो । मेरो परिक्षाको मिति नजिकिदै थियो त्यसैले म परिक्षा बिदामा जाने तयारीमा थिए । सेल्फ आइसोलेसनमा बसेको केही दिनमा नेपाल सरकारले  लकडाउन गर्ने सुचना देशका खोच खोचमा पुग्यो । लकडाउन सुरु भयो, टोलटोलमा माइकिङ गर्न थाले तर घर वरपरका मानिसहरु प्रति कुनै त्रास नभएको उनीहरुको मुहारमा प्रष्ट देखिन्थ्यो । सायद घर वरपरको यस्तो वातावारणले गर्दा पनि होला आफुमा पनि कोरोनाको त्रास कम हुँदै गएको थियो । 

एक रात ग्रुप च्याटमा एउटा भिडियो मेसेज आयो । भिडियो कोन्ट्यागन मुभीको थियो , जुन कोभिड १९ जस्तै माहामारीमा आधारित थियो । मुभी हेरेपछि निदाउन सकिन । भोलि पल्ट साथीको मेसज पाए, हामी पढेको स्कुलको सरको परिवार सबैलाई क्वारेन्टाइनमा राख्न लगियो । किनकी उहाँको छोरी पनि कतारको फ्लाइटबाट नेपाल आएकी थिईन । यस्ता खबरहरु मिडियामा धेरै आउन थालेपछि त्रास बढ्दै गयो । त्यसपछि कोरोना को समाचारको अपडेट लिन छोडे । 

पहिला जस्तै थियो तर अहिले पुरुषको दैनिकीमा मात्र फरक देखिएको छ । लकडाउन पछि कामहरु सबै बन्द भएपछि प्राय पुरुषहरु फ्रि छन् ।

IMG_1673घर वरपर लकडाउन भएको जस्तो वातावरण नै थिएन । पहिला जस्तै थियो तर अहिले पुरुषको दैनिकीमा मात्र फरक देखिएको छ । लकडाउन पछि कामहरु सबै बन्द भएपछि प्राय पुरुषहरु फ्रि छन् । त्यसैले एक हुल बनाएर कोही जनचेतनाका लागि गाउँ टोल टोलमा गएर माइकिङ्ग गर्थे त कोही कि तास खेल्थे कि खसी खोज्न हिड्थे । ठेचोका प्राय महिलाहरु गलैचा बुन्ने र खेतीपातीको काम गर्छन् । अहिले लकडाउनका कारण अर्डर आउन बन्द भएपछि अहिले उहाँहरु घरायसी काम र खेतीपातीमा व्यस्त हुनुहुन्छ । वास्तवमा भन्नुपर्दा महिलाहरुलाई लकडाउनको बेलामा पनि दैनिक जीवनमा केही परिवर्तन आएको छैन । 

खानेपानीको लागी हामीलाई नजिकैको सार्वजनिक धारा सम्म पुग्नु पर्छ । म र मेरी बहिनी बेलुकी पख मात्र पानी लिन जान्छौँ । एकपटक बेलुकी पानी लिएर फर्किदा पछाडीबाट कसैले “ नानी खाना खानुभयो ?’ भनेर सोध्नुभयो । मैले जवाफ दिन नपाउदै उहाँ बर्रबराउन थाल्नुभयो, आज मैले पुलिसलाई बोलाईसके, जहिल्यै आएर पिटेको छ, खाएर आउछ अनि जहिल्यै पिट्छ भन्दै रुन थाल्नु भयो । उहाँले आफ्नो बच्चालाई बोकी रहनु भएको थियो । बच्चाको आँखा निद्राले झ्यापै छोपेको प्रस्ट देखिन्थ्यो । त्यसपछि बल्ल मैले प्रश्न गर्ने मौका पाए । 

कसले पिट्न आउछ ?

मेरो श्रीमानले । 

अहिले कहाँ जान लाग्नुभएको बच्चालाई लिएर ?   

श्रीमानलाई पसलमा खोज्न जान लागेको ।

रक्सी खाएर पिट्न आउने श्रीमानलाई अनि किन खोज्न जानुप¥यो? बच्चालाई खानाखुवाउने आफु पनि खाना खाएर सुत्ने हो, पिट्ने मान्छेलाई किन पसलमा गएर खोज्न जानु? त्यसपछि दिदी घर फर्किनु भयो । थाहा छैन त्यो रात उहाँले श्रीमानको पिटाइखानुभयो कि भएन? तर यति कुरा प्रष्ट थियो कि महिलाहरुलाई कोरोनाको त्रासले भन्दा पनि श्रीमानको त्रासले दिन रात सताउँदो रहेछ ।

 

20181103_162418

***

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 + 3 =