लकडाउन, बिरामी छोरा अनि एक आमा

मञ्जु जि.सी

 

कोरोना भाईरस संक्रमण विश्वभर फैलिने क्रम बिस्तारै ईरान, इटली, हुँदै सबै तिर फैलिँदै थियो । यसका लक्षणहरु रुघा, खोकी, उच्च ज्वरो भन्ने बिभिन्न टिभी, रेडियो सामाजिक सन्जालहरु सबैतिर आइरहेको थियो । सरकारले पनि स्कुलहरुलाई चैत ५ गते सम्ममा परिक्षा सक्नु भनि सकेको थियो । चैत ३ गते बाबुको जन्मदिन थियो । बच्चाको रहर अनुसार केक अर्डर गरी सामान्य तरिकाले जन्मदिन मनायौं । ४ गते बेलुका छोरालाई ज्वरो आयो । भोलिपल्ट अलि कम भयो । अब त आउँदैनकी जस्तो लाग्यो तर रातीबाट फेरी ज्वरो आउन सरु भयो । समचारमा बारम्बार महामारीको संक्रमित बढेको र त्यसकोे लक्षणहरु दोहोर्याई रहेको थियो ।

Untitled-1

उसको बाबा पनि यहाँ हुनुहुन्न । कोरोनाको लक्षणमा ज्वरो आउने, रुघा लाग्ने, खोकी लाग्ने भन्ने छ । बाबुलाई रुघा लागेको थिएन, ज्वरो भने १०० डिग्री भन्दा माथि थियो अनि खोकी हल्का थियो । विश्व त्रसित भएको बेला म नहुने कुरै भएन । ज्वरोको औषधी घरमै थियो । औषधी खाए पछि ज्वरोले छाड्ने अनि औषधीले छुन छोडेपछि फेरी आउन सरु गथ्र्यो । रातभर उज्यालो कति बेला हुन्छ भन्ने लागि रह्यो । यत्तिकैमा चराचुरुंगीहरु कराउन थाले, मान्छेहरु हिँड्न सुरु भयो । एक पटक अस्पताल लान पर्यो भनेर सँधै लगिराखेको हात्तिसारको क्लिनिकमा लगें । डाक्टरले हेरेर “खासै केही छैन, यो भाइरल ज्वरो हो । खुवाइ राखेको औषधी खुवाउनु” भनेपछी मन केही हल्का भयो । घर लिएर आएँ । बाबुले केहि खान मान्दैन थियो । कर गरेर केहि खुवाएर औषधी खुवाएँ तर आज सन्चो होला भोली सन्चो होला भन्यो हुँदैन । औषधीको समयसम्म ठीक हुन्छ अनि फेरी काम्दै ज्वरो आउँछ । दिनमा त ठीकै हुने तर रातभरी एउटा आमाले मात्र लिएर बस्दा यो आमाको मनले के के सोच्छ के के?

४ दिन सम्म पनि ज्वरो ठीक नभएपछि फेरि एक पटक देखाउन पर्यो भनेर त्यहीं लगें । एकपटक रगत जाँच्न भन्नु भयो डाक्टरले । रगतको रिपोर्ट पर्सि मात्र आउँछ भन्नु भयो । त्यति बेलासम्म नेपालमा लकडाउन भएको थिएन । तर भोलिपल्टबाट अकस्मात सरकारले लकडाउनको घोषणा गर्यो ।

अब रिपोट के गर्ने ? रिपोर्टमा के पो भन्ने हुन् भन्ने चिन्ता लाग्न थाल्यो । बाबुलाई सञ्चो हुने कुनै छाँट देखिएको थिएन । ६ दिन भई सक्यो ज्वरो घटेको हैन । ६ दिनको बिहानै रिपोर्टको लागि फोन गरेँ । लकडाउनको कारण सबै सेवा बन्द गरेको कारण रिपोर्ट पठाऊन असमर्थ छौं भनेपछी मन झन आत्तियो । बच्चा बिरामी हुँदा एक आमाको मन थामिने कुरा भएन । आफूले जानेसुनेका सबै उपाय खोजें । अनलाईनमा कान्ति बाल अस्पतालको नम्बर राखिएको रहेछ । नम्बर टिपेर फोन गरें । फोन उठ्ने बित्तिकै मलाई सोधियो, “तपाईंकोमा बाहिरबाट कोही आएको छ?” मैले नढाँटी छ भनें । अनि कहाँबाट आएको? कहिले? त्यसो भए तरुन्त टेकू अस्पताल लिएर जानु भन्ने उत्तर आयो । मेरो छोरोलाई भाईरल ज्वरो हो, चेक गरिसकें भन्ने मौकासम्म नदिई फोन काटियो । तर वास्तवमा भाई आउनु भन्दा पहिलो दिनमा नै बाबुलाई ज्वरो आइसकेको थियो । उहाँ सेल्फ क्वारेन्टाईनमा बस्नु भएको थियो । उहाँको सबै कुरा छुटै थियो । यस्तो परिस्थितिमा टेकू कसरी जाने? नभएको रोग पनि फेरि लाग्ने हो की? भन्ने डर भयो ।

घर छिमेकी वडा सदस्य हुनुहुन्थ्यो । उहाँले हिजो मात्रै केही भयो भने फोन गर्नु भन्नु भएको थियो । फोन गरेँ । उहाँले तुरुन्त एम्बुलेन्स बोलाएर नजिकैको टिचिङ्ग अस्पताल लिएर जान सल्लाह दिनु भयो । यो समयमा सहज तरिकाले गरेको सहयोगले मन जित्यो र मनमा प्रश्न उठ्यो के सबैका छिमेकी र जनप्रतिनिधि भनिने वडा सदस्यहरूले यसरी नै सहयोग गरेका छन् ?

medicine

टिचिङ्ग अस्पतालको गेटमा ज्वरो नाप्न राखिएको रहेछ । सबैको ज्वरो नाप्यो । बाबुको ज्वरो थिएन । बाबुको ज्वरो त्यति बेला औषधीले गर्दा होला घटेको थियो । अस्पताल भित्र पस्यौं । कोरोनाले सबै त्रास भएको बेला ज्वरो भनेपछी सबै स्वास्थ्यकर्मीहरु पनि अलि फरक व्यवहार गरे जस्तो गर्ने भएका रहेछन् । परैबाट कहिलेबाट आएको ज्वरो? अलि उतै बस्नु है भन्दै सबै सोधपुछ गरे । औषधी खाइ राखेको भन्ने बुझेपछि औषधीको मात्रा नपुगेर जस्तो छ । खुवाई राखेको औषधी नखुवाउनु भन्दै पहिलाको मात्रा कम भयो भनेर केही डोज थपेर नयाँ औषधी लेखिदिनु भयो । औषधी किनेर त्यहि ऐम्बुलेन्समा फर्कियौं ।

घरमा आएर ६ घण्टाको फरकमा ३ पटक औषधी खुवाएपछि बाबुलाई ज्वरोले भोलीपल्टै छोड्यो । त्यसपछि अलिअलि खाने कुराहरु पनि खान थाल्यो । मेरो मनमा भएका अनेक त्रासहरू बिस्तारै कम हुन थाले । बाबुमा क्रमिक सुधार देखिन थालेको थियो । तर विश्वमा भने दिनानुदिन संक्रमितहरुको संख्या बढेको बढ्यै छ ।

यो लेख्दै गर्दा देश भित्र पनि तेस्रो चरणमा संक्रमित पुगेको छ । यो अवस्थामा सबै घरमै बसौं, स्वस्थ रहौं, आफ्नो स्वास्थ्यको ख्याल गरौं । यो परिस्थितिमा कोही आमाहरूलाई मेरो जस्तो पीडा भोग्न नपरोस् भनी प्रार्थना गर्दछु ।

***

Leave a Reply

Your email address will not be published. Required fields are marked *

39 − = 29