कसैको लागि म किन परिवर्तन हुने?

m-t-elgassier-cugryvziO_M-unsplash

जब कोभिड १९ संक्रमणको रोकथामका लागि  अफिसले हामीलाई घर बसेर काम गर्ने भन्ने जानकारी दियो तब मलाई थाहा थियो कि मेरो घरको वातावरणले गर्दा म घरमा बसेर काम गर्न सक्दिन । अफिसले घर बसेर काम गर्ने भने पनि नजिकै त हो म त अफिस नै गएँर काम गर्छु भन्ने सोचेको थिए । साथिहरुले घरबाट काम गर्दा मैले २ दिन छुट्टी भनेर क्यालेण्डरमा लेखि सकेको थिए । पछिको एक दिन अफिसमै गएँर काम गरे तर सोमबार २३ मार्च २०२० देखि जब सरकारले नै लकडाउन  भनेर घोषणा गर्यो त्यसपछि अब म एक्लै अफिस गएँर काम गर्ने बाटो पनि बन्द भयो । सबै साथिहरुले घरबाट काम गर्ने भनेर ल्यापटप घर लग्दा मैले लगेको थिईन तर अब त जे भए पनि ल्याउनै पर्ने भयो लकडाउन  भएको साँझ  अफिस गएँर ल्यापटप लिन गएँ । भोलीपल्ट देखि आफ्नो जिम्मामा रहेका अफिसको काम र मेरो आफ्नै थेसिसको काम विस्तारै गर्ने कोशिश गरेँ।  ।

यसरी मैले सबैको ख्याल राख्दा र कसको आवश्यकता के हो र उनीहरुले म बाट के चाहान्छन? भन्दै गर्दा मैले मेरो आवश्यकता के हो? र म के चाहान्छु भनेर मेरो दिनगमा कहिल्यै सोच्ने फुर्सद नै भएन

लकडाउन सकिने भन्दा पनि थपिँदै जाने क्रम बढ्दै गयो । मेरो अफिसको जिम्मेवारी एक ठाउँमा थियो त्यो संगै म घरको लागि  एक आमा, एक बुहारी र एक श्रीमती थिएँ मैले कुनै एक पक्षको मात्र जिम्मेवारी पुरा गरेर हुँदैन थियो । आमा भएको कारण छोराको आवश्यकता र उसले आमाबाट पाउनु पर्ने कुनै पनि अधिकार म बञ्चित गर्न सक्दिनथे । बुहारी भएको कारण घर देखि बाहिर आफन्त नातेदारहरु सम्मको ख्याल गर्न मैले भुल्नै भएन । श्रीमतीको त भन्नै परेन । यसरी मैले सबैको ख्याल राख्दा र कसको आवश्यकता के हो र उनीहरुले म बाट के चाहान्छन? भन्दै गर्दा मैले मेरो आवश्यकता के हो? र म के चाहान्छु भनेर मेरो दिनगमा कहिल्यै सोच्ने फुर्सद नै भएन ( सोच आउँदै नआएको त होईन तर मैले जति कोशिश गर्दा पनि मैले प्राथमिकतामा राख्न सकिंन) । मैले खाली आफूलाई घरभित्र र घरका मान्छेको वरीपरि मात्र सिमित बनाईरहे ।

अलिकती समय भयो भने सामाजिक संजाल हेर्थे । मेरा साथिहरुले लकडावनमा मैले यसो गरे, यस्तो नयाँ काम गरे, यस्तो सिकें, यति वटा किताब पढें  भनेर पोष्ट गरेको देख्दा म आफूलाई शून्यमा पाउँथे। मैले केही गर्न सकिन जस्तो लाग्थ्यो । मैले केही गर्न सकिन भन्ने समय नै मसँग कहाँ हुन्थ्यो र? एकछिन सोच्यो अनि फेरी उही दैनिकीमा फर्कियो तर मेरो मनमा मैले आफ्नो जिवनमा धेरै सम्झौता गरेर अगाडि बढेको छु भन्ने  लागि  रहन्थ्यो ।

nichiiro-vT8yy_N_bXc-unsplashलकडाउन लम्बिदै जाँदा मेरा साथिहरु बिस्तारै  अब त घर बस्ने बानी पर्यो  भन्दैथे । मलाई चाही बिस्तारै  घरको बसाई अत्यास लाग्दो बन्दै गएँको भान भईरहेको थियो । मेरा साथिहरुले जस्तै गरि मैले पनि घरको बसाईलाई सहज पार्नै  सकिन । मेरा साथिहरुलाई पढ्ने, आर्ट गर्ने, योगा गर्ने, नयाँ परिकार पाकाउने, विभिन्न रिसर्च गर्ने, बानी परेको थियो । मलाई भने परिवारका सदस्यको टाईमटेवलको बानी परेको थियो । घरको कामको चापले अफिसको कामहरु समयमा पुरा गर्न नसक्दा मलाई एकदम धेरै पीडा हुन्थ्यो ।

लकडाउन अगाडीका अफिसका दिनहरुमा मेरी  सासु  शनिवार र आईतवार मेरो अर्थात वहाँको आरामको दिन हो, र हफ्ताका यी दुइ दिन घर सम्बन्धी जिम्मेवारी वहाँकि बुहारी अर्थात मैले गर्नुपर्छ भन्नुहुन्थ्यो र समय त्यसरी नै बिताउनुहुन्थ्यो। ति दुई दिन वहाँले जसरी काम गर्नु हुन्थ्यो, आराम गर्नु हुन्थ्यो म पनि त्यही चाहन्थें। हप्तामा दुईदिन उहाँलाई चाहिन्छ भनेर सोच्थे, त्यसैले ति दिनमा म छोरालाई आफूसँगै राख्थे तर लकडाउन  पछि मेरी  सासुको लागि  सबै दिन शनिवार र आईतवार भएको थियो । मेरो  श्रीमानकी हजुरआमा यो बिचमा केही दिनको लागि  हामीकहाँ बस्न आउनु भएको थियो । मलाई लाग्छ मैले उहाँ प्रति निर्वाह  गर्नु पर्ने मानमर्यादा सत्कार सबै दायित्वहरू  पुरा गरेकी  थिए जस्तो लाग्छ तर वहाँलाई मेरो ख्याल गर्ने तरिका मनपरेको जस्तो लागेन । उहाँ मसँग  सन्तुष्टि हुनु भन्दा पनि मैले अफिसको काम गरिरहदा घरमा बसेर के काम हुन्छ अफिसको? अरू  बुहारीको त घरबाट गर्ने काम हुँदैन त? ( मेरो काका ससुराको बुहारी जो बैंकमा काम गर्छिन् । ) तिम्रो चाही के काम हुन्छ? काका ससुराको बुहारी र मलाई दाँज्न थाल्नुभयो । उहाँको बुझाईमा म त काम चोर बुहारी जस्तो पो भयो । म कसरी बुझाउन सक्थे कि अर्की बुहारीको बैकमा पैसा गन्ने काम घरबाट हुन्न भनेर । पछि यति सम्म भन्नुभयो कि मेरो अफिसको अनलाईन मिटिङ्ग हुँदा के मिटिङ्ग हो त्यो गफ गरेर हाँसेर  बस्ने मिटिङ्ग भन्न पो थाल्नु भयो। वहाँको यस्तो टिप्पणीले घरका मान्छेलाई पनि कता कता बुहारीको केही काम हुन्न कि जस्तो भान पर्नु स्वभावीकै हो । मलाई एक त घरको कामको चाप अर्को उहाँले चियोचर्चो गरि भनेका शब्द मेरा लागि  वाण  जस्तै लाग्न थाले । मेरो कमलो मनले फेरी एक पटक आफूलाई मात्र सोचिन तर  वहाँले मभन्दा राम्रो  भनेकी बुहारी साँच्चै  म भन्दा राम्री छिन्  तर के उनी म भन्दा सन्तुष्टि छिन त? उनीले पनि मैले जस्तै अरुलाई खुशी बनाउँदा बनाउँदा आफूलाई सम्झिराखेकीछिन कि बिर्सिन होलिन? ओहो, उनीलाई सम्झेर मलाई डरलाग्यो।   उनका मनमा पनि सायद अशान्ति र मेरो जस्तै पीडाका पोका होलान्  तर कसलाई भन्ने? मैले उनीसँग  कुरा गर्नु पर्छ जस्तो लागि राखेको छ । उनीसँग  त कुरा गरौला तर उनी र म जस्ता कति बुहारीले आफ्नो  पीडाको पोका फुकाउन पाएका  छैनन् होला? सोच्दा नै अत्यास लाग्छ ।

35218घरमा यस्ता स–साना टिप्पणी हुँदै जाँदा मलाई कताकता उकुसमुकुस भए जस्तो लाग्यो । मैले श्रीमानलाई सेयर गरे उसले यस्ता कुरा सुन्नु हुन्न एक कानले सुन्ने अर्को कानले उडाउने अहिले हाम्रो सुन्ने पालो हो हाम्रो पालो आउँछ अनि भनौंला  भन्यो । मेरो  कामको  बारेमा पहिले पनि कुरा हुने गर्थ्यो र  पहिले पनि उसले यस्तै भन्थ्यो । त्यती बेला त म अफिस जान्थें, साथिहरुसँग भेट्थें,  साथिहरुसँग कुरा सेयर गर्थे, केही हल्का हुन्थ्यो। नयाँ काममा लाग्थें।  बेलुका घर जाँदा यी सबै कुरा भुलेको हुन्थ्यो र ति सब दिनहरूमा यस्ता कुरा सायद मलाई सहज भएको थियो । तर अहिले त्यस्तो छैन – घरको चार पर्खाल भित्र हामी बन्दि जो भएका छौं । बन्दमा मेरो मनका चोट र भावना सबै बन्द भएको छ जसले मलाई भित्रभित्रै पोलिरहेछ ।

यो बिचमा मेरो छोरा बिरामी भयो। छोरा बिरामी भएको कारण मैले राम्रोसँग उसको ख्याल नगरेकोले हो जस्ता कुरा मलाई  अपत्यक्ष रुपमा थाहा दिइयो।  छोराको बाबुले यस्तो आरोप खेप्नु  परेन तर आमाले बच्चा बिरामी भएको कारक बन्नु पर्यो  र यसो हुँदा आमाको मन कत्ति पोल्यो होला? यो सब एक आमाले मात्र बुझ्न सक्छिन्  । छोरा बिरामी भएको आरोप आफूले खप्नुपर्दा  मेरो मन भित्रको पोलाई भित्र मात्र बस्न सकेन र बाहिर नै निस्कियो ।

एक दिन अफिसको मिटिङ्ग थियो। मिटिङ्गको विषय हामीले घर बसेर के क्रिएटिभ काम गरिरहेका छौ? मैले सबै साथिहरुको क्रिएटिभ काम खुब चाख मानेर सुनें र मलाई एक प्रकारको आनन्द पनि आईरहेको थियो तर जतिबेला मेरो बोल्ने पालो आयो तब म बोल्नै सकिन मेरो मुखबाट बोली फुट्नुको साटो आँखाबाट आँशु बग्यो। यो के भयो? म आफै दङ्ग गरे । मेरो मुखबाट एक शब्द पनि निस्केन र मैले च्याटमा म अहिले बोल्दिन लेखें । पछि मैले धेरै सोचें कि मलाई के भएको छ, र आफैले पत्ता लगाउने कोशिस गरेँ। शायद मलाई अफिसको साथिहरुमा आफ्नोपन भेटें होला त्यसैले म होईन मेरो मन रोयो भन्ने निर्कषमा पुगें  ।

हामी बाहिर जति कुरा गरे पनि परिवर्तनको भाषण गरे पनि आखिरमा हाम्रो घर परिवारले हामीबाट खोज्ने भनेको एक ‘संस्कारी’ बुहारी नै रहेछ।

पछि, साथिहरुले छुट्टाछुट्टै फोन गर्दै सोध्न थाले। साथिहरुलाई चिन्ता लाग्नु स्वाभाविकै थियो तर मलाई भने एक प्रकारको लाज लाग्यो। साथिहरुसँग कुरा गरे पछि मलाई अलि मन शान्त भए जस्तो लाग्यो । हामीले स–सानो कुरा भनेर वास्ता नगर्दा यसले हाम्रो मनमा कति ठुलो रुप लिदो रहेछ भन्ने बलियो प्रमाण म आफैले आफैबाट बुझें  । पहिल्यै श्रीमानले यो सानो कुरा त हो वास्ता नगर पछि ठिक हुन्छ भनेर नभनि मेरो कामको बारेमा भनिदिएको भए, ससुराले वहाँकी  आमाको, काका ससुराको घरमा जाँदा मैले काम गर्न सक्दिन भनेर घरमा काम छ जाउ घरबाट फोन आयो भनेर झुठ  बोलेर घर पठाउनुको साटो मैले धेरै काम गर्न सक्दिन, र उसको अरु काम पनि  छ भनेर पठाएको भए सायद मैले आज यो दिन देख्न पर्दैनथ्यो वा यस्तो भोग्न पर्देनथ्यो कि? भनेजस्तो भएको छ।

अहिले मेरो मनमा एक प्रकारको नमिठो अनुभुती भईरहेको छ । हामी बाहिर जति कुरा गरे पनि परिवर्तनको भाषण गरे पनि आखिरमा हाम्रो घर परिवारले हामीबाट खोज्ने भनेको एक ‘संस्कारी’ बुहारी नै रहेछ। उहाँहरुको नजरमा संस्कारी बु्हारी कस्तो हो? त्यो हामी सबैलाई थाहा छ । वास्तवमा मैले यो समयमा आफ्नो हैसियत के हो? र मलाई कुन हैसियत कसले कसरी दिदो रहेछ भन्ने थाहा पाउने मौका भने राम्रैसँग पाएको छु । त्यसैले गर्दा हो, मलाई अहिले खासै कुनै आफन्तहरुसँग नजिक हुन मन लाग्दैन । जस्तै सामान्य कुरा मेरी काकी सासुहरु मेरो घरमा आफ्नो घरमा पाकेको खाना लिएर आउनु हुन्छ, मेरो सासुलाई पनि केही पकाएर दिने मन हुन्छ र मलाई पनि दिनु पर्छ जस्तो लागेको थियो तर मैले म र मेरो कामको बारेमा वहाँहरूको टिप्पणी जसरी सुनें त्यस पश्चात मलाई केही दिन नि मन छैन र उनीहरुले पनि नगरोस् जस्तो लाग्छ । म जे छु जस्तो छु म ठिक छु कोही कसैको लागि  म किन परिवर्तन हुने जस्तो लाग्छ । बिस्तारै आफ्नो समयको व्यवस्थापन गर्न, आफ्नोबारेमा सोच्न थाल्नुकासाथै दिनमा किताबको एक पाना मात्र भए पनि पढ्ने गरेको छु ।

कोभिड-१९ को एक महिनाको यो यर्थाथ अनुभुती हो। यसपछि अब के हुने हो, संसारलाई थाहा छैन । साच्चै मरिन्छ की के हो जस्तो गरि मन आत्तिएको बेला मैले गर्नु परेका यो अनुभुतीले कतै मलाई शारिरीक रुपमा त कमजोर बनाउने होईन भन्ने जस्तो पनि बेलाबेलामा लाग्छ । तर म एउटै कुरालाई धेरै मनमा नखेलाउने र हरेक कुरालाई सकारात्मक तरिकाले सोच्ने गर्छु त्यहि भएर असहजता पनि सहजतातिर बढी कुदीरहेको जस्ता लाग्छ । यो सब हुँदा पनि जब मेरो छोरा मेरा काखमा आउँछ म सब पीडा भुल्छु। उसलाई छातीमा टाँस्दा संसारको खुशी हामी आमा छोरासँग छ जस्तो लाग्छ । कहिलेकाहीं म एकदम डराउँछु सोचेर कि कतै छोरालाई मेरो ममतामा कमी हुने त होइन? अरुलाई मैले निर्वाह गरेको भुमिकामा कमिको महशुस गरेपनि मेरो छोराले मेरो ममताको कमी महशुस नभेटोस् भन्ने लाग्छ। सबै दुःख हरण गर्ने मेरो छोरा मात्र यो लकडाउनको मेरो एक मात्र साथि बनेको छ ।

mother-son-playing-outdoors-sunset-silhouette_1249-1630

***

Leave a Reply

Your email address will not be published. Required fields are marked *

− 2 = 2